बैशाख २३, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले समाजका सल्लाहकार एंव आजिवन सदस्य ७५ बर्षिय नारायण कोन्मे गुरुङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । कोरोना भाइरस संक्रमणबाट पीडित गुरुङको सोमबार अपरान्ह सवा ४ बजे ननिटनको जर्ज इलिएट अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।अध्यक्ष गिरीले पर्वत नेपाल सँग कुराकानी गदै स्व गुरुङले समाजको स्थापनाकाल देखि नै संस्थाको विकास र आफ्नो मातृभूमिप्रति देखाएको माया सबैका लागि प्रेरणादायी रहेको बताउनु भयो ।
‘स्वर्गिय गुरुङको अकल्पनीय निधनले म स्तव्ध भएको छु । हामीलाई सधै अगाडी बढ्न प्रेरणा र हैसला प्रदान गर्नुहुने हाम्रा अभिवावकको निधनले समाजलाई अपुरणिय क्षति पुगेको छ,’ –अध्यक्ष गिरीले भन्नुभयो । साथै अध्यक्ष गिरीले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।
स्वर्गिय गुरुङको श्वासप्रश्वासमा समस्या भएपछि अप्रिल २६ तारिखमा अस्पताल भर्ना हुनुभएको थियो । अस्पतालमा उपचारको क्रममा गुरुङलाई अक्सिजन मास्क दिइएको थियो । तर डाक्टरहरुले उनको फोक्सोमा गम्भीर असर परेको र अवस्था निकै कमजोर रहेको जनाउँदै आएका थिए ।पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा स्थायी घर भएका स्वर्गीय गुरुङ परिवारसहित बेलायत बस्दै आएका थिए । उनका पत्नी, दुई छोरा र एक छोरी सबै बेलायतमै छन् । एक छोरा रेडिङमा छन् भने अर्का छोरा र छोरी ननिटनमै बस्दै आएका छन् ।
सामाजिक रुपमा समेत क्रियाशिल स्वर्गीय गुरुङ बेलायतस्थित विभिन्न संघसंस्थामा आबद्ध थिए । उनी अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार एंव आजिवन सदस्य हुन् । एनआरएनए यूके, तमुधिं यूके जस्ता संस्थामा सल्लाहकार रहेका उनी चारभञ्ज्याङ तमु समाज यूकेका संस्थापक र वर्तमान संरक्षक हुन् । चारभञ्ज्याङ तमु समाजको अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार समेत रहेका गुरुङ बेलायतस्थित कोने -घोतानेरघोण्डे) समाज यूकेका संस्थापक वरिष्ठ सल्लाहकार थिए ।
