Contributor, ParbatNepal
6 years ago
2305
पर्वत–गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा सँगै देश दौडाहामा जापान पुगेका कुल आचार्यलाई जापानमा भव्य स्वागत गरिएको छ । एनआरएनको मलेसिया अधिवेशनमा सहभागी भएर आचार्य जापान पुग्नु भएको थियो । जापान पुग्नुभएको आचार्यलाई पर्वत समाज जापानले भव्य स्वागत गरेको हो ।
पर्वत समाजका अध्यक्ष सुजन जोशी, एनआरएनए जापानका अध्यक्ष टाँसी वाङदी लामा,नेपाली जनसम्पर्क समिती जापानका सभापति लाल बहादुर केसी लगायत पर्वत समाज एनआरएन जापान जनसम्पर्क समितीका पदाधिकारी सदस्यहरु लगायतको टोलीले एयरपोर्टमा पुगेर आचार्यलाई स्वागत गरेको हो । स्वागत पश्चात पर्वत समाज जापानले आयोजना गरेको डिनर कार्यक्रममा आचार्य पुगेका थिए ।
डिनरमा बिभिन्न देशका अधिबेशनमा भाग लिई बिहिवार नै जापान फर्केका एनआरएनए आईसीसी कोषाध्याक्षका उम्मेदवार, पर्वत समाज जापानका सल्लाहकार एवम् अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक महेश श्रेष्ठ, पर्वत समाज जापान एवम् अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार आईसीसी एसिया प्यासिफिक संयोजकका उम्मेदवार अजिब गुरुङ ‘ओम’ नेपाली जनसम्पर्क समिती जापानका सभापति लालबहादुर केसी लगायत अन्य संघसंस्थाका पदाधिकारी एवम् जापान बासी पर्वतेलीको बाक्लो उपस्थिती रहेको थियो ।
डिनर अगाडी भएको अन्तरक्रिया कार्यक्रममा आचार्यले पर्वत समाज जापानले जिल्लाको विकास र समृद्धिमा महत्वपूर्ण टेवा पुर्याएको भन्दै पर्वत समाज जापानको प्रशंसा गर्नुभयो । प्रवासमा भएर पनि आफ्नो जन्मभूमिप्रति समाजले गरेको कार्य अनुकरणिय रहेको जिकिर गरे । अन्तरारष्ट्रिय पर्वत समाजका संरक्षक समेत रहेका आचार्यले मुलुकको समृद्धि र विकासका लागि प्रवासीहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
एनआरएनए पनि मुलुकको समृद्धिका लागि स्थापना भएको बताउँदै मुलुकको समृद्धिमा प्रवासीहरुको महत्वपूर्ण योगदान रहेको बताए । नेपालीले पसिना बगाएर कमाएको रेमिटयान्सबाट मुलुकले ठुलो धनराशी बटुल्ने गरेको तर उनीहरुको जीवन सुरक्षाका लागि पर्याप्त काम हुन नसकेको प्रति चिन्ता व्यक्त गरे ।
‘प्रवासमा नेपालीहरुले ज्यान गुमाएको प्रति दुःख व्यक्त गदै आचार्यले भने,‘आजको पहिलो आवश्यकता भनेको नेपालीहरुको जीवनको सुरक्षा हो ।’, ‘त्यस्तै नेपालीहरुले सुरक्षित रुपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्नु पनि हो–आचार्यले भने,।’ आफु अध्यक्षको उम्मेदवार बन्दै गर्दा खाडी मुलुकमा काम गर्ने तमाम नेपाली श्रमजीवीहरुको जीवन र स्वास्थ्यका लागि विशेष पहल गर्ने उनले बताए ।
एनआरएनए आईसीसी कोषाध्याक्षका उम्मेदवार महेश श्रेष्ठले मुलुकको समृद्धिका लागि सम्पूर्ण नेपाली एक ढिक्का भएर लाग्नुको बिकल्प नभएको बताए । नेपालका लागि प्रवासीको योगदान उलेख्य रहेको बताउँदै एनआरएनएको निर्वाचन पश्चात मुलुकको समृद्धिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रवासीको हित र मुलुकको समृद्धिका लागि आफुले कोषाध्याक्षमा स्पष्ट कार्ययोजना सहित उम्मेदवारी दिएको बताउँदै सहयोग गर्न सवैलाई अपिल गरे ।
आईसीसी एसिया प्यासिफिक संयोजकका उम्मेदवार अजित गुरुङ ‘ओम’ले व्यक्तिगत हित भन्दा पनि मुलुकको हितको लागि सवै एकजुट हुनुपर्ने आवश्यकता रहेको जिकिर गरे । गैर आवासीय नेपाली संघलाई प्रवासमा बस्ने नेपाली र नेपालको समुन्नतिको अभियानमा अगडी बढाउन आफुले उम्मेदवारी दिएको बताए । जापानबाट नै तिन आकांक्षी रहेको कुरा तिर लक्षित गर्दै गुरुङले आफु जस्तो सुकै परिक्षा दिन तयार रहेको र मिलेर नै अगाडि बढ्नुपर्ने कुरामा जोड दिए ।
पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीले समाजले गरेका कामका विषयमा जानकारी गराउँदै पर्वतको विकास र समृद्धिका लागि पर्वत समाज जापान अझै सक्रिय भएर लाग्ने बताए । पर्वतमा जन्मिएर एनआरएनएको उम्मेदवार बन्नुले जिल्लाको गरिमा र पहिचानलाई थप उच्च स्थानमा पुर्याएको बताए । साथै उनले पर्वते उम्मेदवारहरुलाई एकजुट भएर लाग्न पनि सुझाव दिए । ‘पर्वत समाज जापानले जसरी पर्वतेहरुलाई एकताको सुत्रमा बाँधेको छ, त्यसरी नै हजुरहरु एक भएर निर्वाचनमा होमिन सुझाव दिए ।
आफ्नै कार्यक्षमता , योग्यता र योगदानले यो स्थानमा पुग्नु भएको बताउदै पर्वत समाज जापान तथा अन्तराष्ट्रीय पर्वत समाज सधै यहाँहरुको साथ र समर्थनमा रहेको पर्तिबद्धता व्यक्त गरे । जोशी अन्तराष्ट्रिय पर्वत समाजका सचिव समेत हुन । कार्यक्रमको संचालन समाजका महासचिव जनक सुवेदीले गरेका थिए ।
